मुख्य समाचार

झापाका उद्योगी – व्यवसायीलाई एआई प्रयोग बारे प्रशिक्षण

झापाका उद्योगी – व्यवसायीलाई एआई प्रयोग बारे प्रशिक्षण


झापा । झापाका उद्योगी–व्यवसायीहरुलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग, सम्भावना र उपयोगिता बारे प्रशिक्षण प्रदान गएिको छ ।

झापा उद्योग संघको आयोजनामा भएको ‘ट्रान्सफर्मिङ इन्डस्ट्रियल म्यानेजमेन्ट थ्रु एआई’ विषयक प्रशिक्षणमा संघमा आवद्ध उद्योगी–व्यवसायी तथा विभिन्न औद्योगिक–व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा एआई प्रविधिको प्रयोगमार्फत उद्योग सञ्चालनलाई सहज, प्रभावकारी र आधुनिक बनाउन सकिने विषयमा अग्रज सञ्चारकर्मी पत्रकार उमाकान्त खनालले सहजीकरण गरेका थिए ।

संघका अध्यक्ष शिवकुमार गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा उद्योग तथा व्यवसाय सञ्चालनमा एआई प्रविधिको प्रयोग, व्यवस्थापन प्रणालीको सुधार तथा डिजिटल प्रविधिबाट उत्पादनशीलता बृद्धि गर्ने विषयमा जानकारी गराइएको थियो।

पछिल्लो समयमा एआई प्रविधिले उद्योग तथा व्यापार क्षेत्रलाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेलिरहेकोले यसको प्रयोगलाई व्यापक बनाउने गरी उद्योगी–व्यवसायीलाई प्रशिक्षित गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए । उनले उद्योग तथा व्यवसाय सञ्चालनमा नवीन प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको बताए ।

उद्योगी–व्यवसायीलाई एआईलगायत आधुनिक प्रविधिबारे जानकारी गराई त्यसको व्यावहारिक प्रयोगतर्फ प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका निवर्तमान अध्यक्ष यमबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रविधिको विकाससँगै उद्योग व्यवस्थापनको शैलीसमेत परिवर्तन भइरहेको अवस्थामा झापाका उद्योग तथा व्यवसायलाई समयअनुकूल बनाउन यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ ।

शेयर गर्नुहोस :

0
Shares