Banner news

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा शनिबार टुँडीखेलमा आयोजित समारोहमा सम्बाेधन गर्नुहुँदै प्रधानमन्त्री वालेन्द्र शाह । तस्बिर : किरणराज बिष्ट / रासस

काठमाडौँ, ३ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले शहीदका रगतले लेखिएको संविधान, हामी कामले पूरा गर्र्छौँ भन्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ, म यो बाचा आज फेरि दोहो¥याउँछु । संविधान जारी भएको दिन हरेक वर्ष आउँछ तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ, हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट ।”

तस्बिर : किरणराज बिष्ट / रासस

जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय मागेका बताउँदै उहाँले सरकारको हरेक कदम त्यही आकाङ्क्षातर्फ केन्द्रित रहेको र रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनी राज्य हाम्रा लागि सर्तहरू नभइ हाम्रो राष्ट्रिय जीवनको आधार भएका बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ, विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य, विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण हो । एउटा कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन । संविधान जति राम्रो भए पनि, त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ ।”

प्रधानमन्त्री शाहले भन्नुभयो, “यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ । तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन् । विकासका लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्ने कुरामा सरकार सचेत छ ।”

वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको उहाँको भनाइ थियो ।

“सुशासन नारा होइन, काम हो, हामी काम गरिरहेका छौ । सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न सङ्घीय सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शाहले आफूहरु पुरानै बाटो मात्र नहिँड्ने उल्लेख गर्दै कृत्रिम बुद्धिमता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर, नवप्रवर्तन र नवउद्यमलाई अगाडि राखेर, ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिने बताउनुभयो । डिजिटल सुशासन कार्ययोजनाअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले युवाले सडकमा मागेको सुशासन प्रविधिबाट पनि सुनिश्चित गरिने प्रतिबद्धता जनाउनुभयो ।
प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति हाम्रा लागि अकल्पनीय र अपुरणीय भएको आजको यस विशेष घडीमा विपद् व्यवस्थापन एवं उद्धारमा सहयोग गरेका सबै मित्रराष्ट्र, अन्तरराष्ट्रिय समुदाय एवं संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी, आम नागरिक तथा देशवासीप्रति आभार प्रकट गर्नुभयो ।

“धन्यवाद मात्र पर्याप्त छैन । नेपाल विश्वका विपद् उच्च जोखिम भएका मुलुकहरूको सूचीमा छ । यो तथ्यलाई हामी विपद् आइसकेपछि होइन, आउनुअघि नै सामना गर्छौँ। जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिइनेछ । विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शाहले नेपालको राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको मागगरी गरिएका आन्दोलनमा आफ्नो ज्यान आहुती गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरू तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका जेनजी सुशासन योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । साथै उहाँले भोटेकोशी बाढीमा जीवन गुमाएका सबै स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवदेना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

शेयर गर्नुहोस :

81
Shares