बिर्तामोड । सामुहिक तरकारी खेती गरिरहेको नेकपा एमाले बाह्रदशीले आज गोवर भेला सम्पन्न गरेको छ । पार्टी नेता कार्यकर्ताहरुलाई तरकारी खेतीका लागि आवश्यक पर्ने प्राङगारिक मल गोवरसहित उपस्थिति हुन आव्हान गरिएको थियो ।
नेकपा एमाले बाह्रदशीले कृषि उत्पादनलाई प्राथमिकता दिदैं नेता कार्यकर्ताहरुलाई उत्पादनसँग जोड्न सामुहिक खेती गरिरहेको छ । स्थानीय पार्टी नेता गंगा काफ्लेको बाँजो जमिनमा तरकारी खेती गरिरहेको पार्टीका बाह्रदशी अध्यक्ष अनिल सापकोटाले जानकारी दिए । उनका अनुसार माटोको उर्वरा शक्तिको विकास र सकेसम्म अग्र्यानिक तरकारी उत्पादनमा जोड दिने उद्देश्यका साथ पार्टीले गोबर मल (प्रांगारिक मल) संकलनको अभियान संचालन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि हरिबहादुर राजवंशीले वर्तमान अवस्थामा व्याप्त स्वास्थ्य संकट तथा क्यान्सर जस्ता प्राण घातक रोगको मुख्यकारण विषादीयुक्त तरकारी भएका कारण सकेसम्म अग्र्यानिक तरकारी उत्पादनमा सबैले जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो । नेकपा एमाले बाह्रदशी गाउँ कमिटीले किसानका जनजिविकालाई प्रेरित गर्ने र पार्टीलाई उत्पादनसँग जोड्न रचनात्मक कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गर्नुभयो ।
तरकारी खेतीका लागि एमालेले बाह्रदशी – ५ स्थित काफ्लेको घरमा गोबर भेला गरेको हो । कार्यक्रमका संयोजक रोमनाथ दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार परिषद सदस्य हरिबहादुर राजवंशी, प्रदेश सल्लाहकार परिषद् सदस्य शेर बहादुर तामाङ, जिल्ला कमिटी सदस्यहरु लक्ष्मण पाठक, विरेन्द्र प्रसाद राजवंशी, भुपेन्द्र कटुवाल पूर्व जिल्ला कमिटी सदस्य टेक प्रसाद आचार्य, पूर्व गाउँ कमिटी अध्यक्ष बुद्धराज कार्की लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संयोजक दाहालका अनुसार ७० भन्दा बढी कृषकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।








प्रतिक्रिया