Banner news

अस्पतालबाट सडकमै फर्किए आमरण अनसन बसेका जेनजी घाइते

अस्पतालबाट सडकमै फर्किए आमरण अनसन बसेका जेनजी घाइते


बिर्तामोड । आमरण अनसनका क्रममा स्वास्थ्यमा समस्या भई अस्पताल भर्ना भएका जेनजी घाइते फेरि सडकमा आएका छन् । अर्जुनधारा – ६ झापाका जेनजी घाइते विवेक दनुवारले अस्पताल छोडर सडकमा आमरण अनसनलाई निरन्तरता दिएका छन् ।

जेनजी घाइतेहरुका तर्फबाट विभिन्न माग राख्दै दनुवारले भदौं भदौं ३० गतेबाट बिर्तामोडमा आमरण अनसन सुरु गरेका हुन् । अनसनको दोस्रो दिन स्वास्थ्यमा समस्या भई विएण्डसी अस्पताल भर्ना भएका दनुवारले शनिवारबाट पुन : सडकबाट अनसनलाई निरन्तरता दिएका हुन् । अनसनको चौथो दिनसम्म राज्य प्रशासनको तर्फबाट माग बारे चासो समेत प्रकट नगरेको उनको गुनासो छ । माग पुरा नभएसम्म आमरण अनसन जारी राख्ने अडानका साथ बसेका दनुवारले सरकारले आफुहरुको माग सम्बोधन गर्नैपर्ने बताएका छन् ।

आमरण अनसनमा अन्य घाइतेहरुले समेत उनलाई साथ दिएका छन् । अन्य घाइतेहरुको समेत साथ पाएका दनुवारको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको सहयोगी मनोज कडरियाले जानकारी दिए । उनले सरकारको तर्फबाट कुनै सम्बोधनका लागि चासो व्यक्त नभएको स्पष्ट पारेका छन् । सरकारी निकायबाट चासो नभए पनि झापाका सांसदहरुले चासो दिनुपर्ने उनको धारणा छ । झापाका सांसदहरुले समेत जेनजी घाइतेको आमरण अनसनलाई वेवास्था गरेको उनको आरोप छ ।

घाइतेहरूलाई निःशुल्क गुणस्तरीय उपचारको व्यवस्था गर्नुपर्ने, हालसम्मको उपचारमा लागेको सम्पूर्ण खर्च राज्यले बेहोर्नु साथै घाइतेहरूको लागि उचित क्षतिपूर्ति तथा जीवनयापनको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

आमरण अनसनमा घाइते वा घाइतेका परिवार र सहिद परिवारको लागि निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने, सार्वजनिक यातायातमा घाइतेहरूको लागि विशेष छुटको व्यवस्थापन गर्नुपर्ने, घाइते तथा सहिद परिवारको सम्बोधन गर्न विशेष कानुन निर्माण गर्नुपर्ने माग राखिएको छ ।

शेयर गर्नुहोस :

0
Shares