विर्तामोड । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत झापाका ९० प्रतिशत बढी वडामा सहमतिकै आधारमा नेतृत्व चयन भएको छ । वडाका अधिकांश क्रियाशिल सदस्यहरुले यसपटकको निर्वाचनमा एकता प्रस्तुत गर्दै सहमतिकै आधारमा नेतृत्व चयन गरेका हुन् ।
झापा क्षेत्र नं–५ का २९ वटा वडामध्ये २४ वटामा सहमतिमा वडाको नेतृत्व र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएको क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार दमक–५ र ९, कमल–२, गौरादह १ मा सहमतिको प्रयास जारी छ भने गौरादह–२ मा वडासभापति पदमा मात्रै निर्वाचन भएको छ ।
नेपाली कांग्रेसको विधान (२०१७ एघारौं संसोधन) एवं नेपाली कांग्रेसको १५ औं महाधिवेशन निर्देशिका–२०८३ बमोजिम अधिकांश वडामा १७ सदस्यीय वडा समिति र क्रियाशिल सदस्य संख्याको आधारमा न्यूनतम २३ देखि अधिकतम ७५ जना क्षेत्रीय प्रतिनिधि चयन हुने ब्यवस्था छ ।
सोही ब्यवस्था बमोजिम कांग्रेसले तय गरेको क्लस्टर एवं खुल्लासहित क्षेत्रीय प्रतिनिधि र वडा समिति सहमतिकै आधारमा निर्विरोध चयन भएका हुन् ।
यता झापा क्षेत्र नं–२ अन्तरगत विर्तामोड–५ मा खुल्ला र खसआर्य खुल्ला क्षेत्रीय प्रतिनिधिका लागि मात्रै मतदान भएको छ । अन्य पद निर्विरोध चयन भएको क्षेत्रीय सभापति खगेन्द्र मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार विर्तामोड–३ मा वडा सभापति र खुल्ला क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचन भएको छ भने अर्जुनधारा–५ मा पनि खुल्ला क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचन भएको छ ।
झापा क्षेत्र नम्बर–२ का २५ वटा वडामध्ये २२ वटा वडामा निर्विरोध वडा नेतृत्व एवं क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । क्षेत्रीय प्रतिनिधिले गाउँ-नगर, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र एवं जिल्लासम्म मतदान गर्ने र उम्मेद्वार बन्न पाउने ब्यवस्था नेपाली कांग्रेसको विधानले गरेको छ ।
यसैगरी झापा क्षेत्र नं–३ का २७ वटा वडामध्ये २३ वटा वडामा सहमतिका आधारमा नेतृत्व चयन भइसकेको छ भने कचनकबलका १,३,७, ४ र ५ मा निर्वाचन प्रक्रिया जारी रहेको र सहमतिको प्रयास भइरहेको नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले जानकारी दिनुभयो ।
झापा क्षेत्र नं–४ का २८ वटा वडामध्ये २५ वटामा सर्वसम्मत नेतृत्व चयन भएको क्षेत्र नं–४ का उपसभापति विनोद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार शिवसताक्षी–५ मा वडा सभापति पदका लागि निर्वाचन भएको छ भने अन्य पदमा निर्विरोध नेतृत्व चयन भएका छन् । त्यसैगरी झापा–३ मा अन्य सवै पदमा सहमति भएको र खुल्ला क्षेत्रीय प्रतिनिधि पदमा सहमतिको प्रयास जारी रहेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच झापा क्षेत्र नं–१ का मेचीनगर १५, ८ र १ मा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने अन्य वडामा निर्वाचन प्रक्रिया जारी छ । यसैगरी भद्रपुर १० मा पनि सहमतिमै नेतृत्व चयन भएको छ क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले यसपटकको निर्वाचनमा क्रियाशिल सदस्यहरुको अत्यन्तै उत्साहपूर्ण सहभागिता देखिएको र निर्वाचनले एकताको सन्देश दिएको बताउनुभयो । ‘नेपाली कांग्रेसको निर्वाचनको इतिहासमै यसपटक झापामा लगभग शतप्रतिशत सहभागिता देखिएको छ, निर्वाचनले सहमति, सहकार्य, र एकताको विकल्प छैन भन्ने सन्देश पनि दिएको छ’–सभापति थेवेले भन्नुभयो–‘यो निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्ने निर्वाचन समिति, सवै तहका नेता–कार्यकर्ता, क्रियाशिल सदस्य सवैलाई हार्दिक धन्यवाद ।’ उहाँले अब पालिका, प्रदेशसभा, क्षेत्रसहित सवै तहका निर्वाचनमा एकताको सन्देश प्रवाह गर्न पनि सबैमा अपिल गर्नुभयो ।
नेपाली कांग्रेस झापा अन्तरगत जिल्ला निर्वाचन अधिकारी दिब्यराज घिमिरेले झापा जिल्लाको निर्वाचनमा जिल्ला समिति, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ-नगर, वडाका नेतृत्वमा रहनुभएका र सवै क्रियाशिल सदस्यहरुले अधिवेशन सफल पार्न देखाएको उत्साहले पार्टीमा एकजुट हुनुको विकल्प छैन भन्ने सन्देश दिएको बताउनुभयो ।
‘संविधानले परिकल्पना गरेको बहुलवादमा आधारित कन्सेप्टका आधारमा नेपाली कांग्रेसको विधान बनेको छ’–घिमिरेले भन्नुभयो–‘नयाँलाई आकर्षण गरेको छ, सवै वर्ग, क्षेत्रको अपनत्व कायम गरेको छ, निर्वाचनले नेतृत्वलाई एकजुट भएर देशकै नेतृत्व गर्ने सन्देश पनि दिएको छ ।’ सरकार छ कि छैन ? भन्ने अवस्था रहेको बर्तमान र देश संकटमा परेका बेला नेपाली कांग्रेसकै नेतृत्वले समाधान दिएको इतिहास निर्वाचनले सम्झाइदिएको बताउँदै घिमिरेले भन्नुभयो–‘नागरिकका समस्या कांग्रेसबाटै समाधान हुन्छ भन्ने इतिहास निर्वाचनले सम्झाइदिएको छ, पार्टी एकता अक्षुण्ण राख्दै जीवन्तताको सन्देश झापाको निर्वाचनले दिएको छ । मेरो अहिलेसम्मको निर्वाचन अनुभवमा झापा ले सकारात्मक सन्देश दिएको छ । यो देशभरमै नमूना हो ।’
यसैबीच नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले यसपटकको निर्वाचनमा विगतको भन्दा फरक अनुभव बटुलेको बताउनुभयो । ‘कार्यकर्ताको उत्साहपूर्ण सहभागिता छ, नेतृत्वमा तीब्र आकांक्षाका बीच पनि सहमतिका लागि स्वतस्फूर्त त्याग देखाउनुभएको छ’–विमलीले भन्नुभयो–‘कांग्रेसको नेतृत्व परिवर्तन ठिक छ अब जनताका आशा र अपेक्षा कांग्रेसबाटै सम्बोधन हुन्छ भन्ने सन्देश पनि निर्वाचनले दिएको छ ।’ उहाँले सम्पूर्ण क्रियाशिल सदस्यहरुको स्वतस्फूर्त सहभागिता, सहमति, सहकार्य र एकताका लागि दिएको सन्देशलाई मनन गर्दै पार्टी अघि बढ्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया