Banner news

जेन्जी आन्दोलनले रोकिएको शिवसताक्षीको कोटिहोम माघ ९ देखि

जेन्जी आन्दोलनले रोकिएको शिवसताक्षीको कोटिहोम माघ ९ देखि


विनोद सापकोटा

झापा, असोज ४ । झापाको शिवसताक्षी स्थित गोलोक गोवर्धन गौशाला परिसरमा आगामी २०८३ माघ ९ गतेदेखि २७ गतेसम्म श्रीशताक्षी गोरक्षा महोत्सव–२०८३ आयोजना हुने भएको छ । जस अन्तर्गत ऐतिहासिक शत (१००) कुण्डीय श्रीगायत्री कोटिहोम, श्री अष्टादश (१८) महापुराण एवं धनधान्याञ्चल विराट ज्ञान महायज्ञ आयोजना हुने भएको आयोजक गोलोक गोवर्धन गौशालाले जनाएको छ ।

महोत्सव गोलोक गोवर्धन गौशालाको ११ औँ स्थापना दिवसको अवसरसँग जोडेर आयोजना गर्न लागिएको हो । गौशालाका संरक्षक एवं अध्यक्ष आचार्य श्री नन्दकिशोरजी महाराजका अनुसार अघिल्लो वर्ष नै महोत्सवका लागि आवश्यक तयारी पूरा गरिएको थियो । तर जेन–जी आन्दोलनका कारण उत्पन्न परिस्थितिपछि स्थानीय प्रशासनले कार्यक्रमको रूपरेखा परिमार्जन गर्न आग्रह गरेकाले कार्यक्रम स्थगित गरिएको थियो । स्थगित महोत्सवलाई थप व्यवस्थित र व्यापक बनाउँदै यस वर्ष माघ ९ देखि २७ गतेसम्म सञ्चालन गर्न लागिएको उनले बताए ।

आयोजकका अनुसार महोत्सवमा गायत्री मन्त्रद्वारा एक करोड आहुति अर्पण गर्ने लक्ष्यसहित शत कुण्डीय कोटिहोम सञ्चालन हुनेछ । यज्ञकै अभिन्न अङ्गका रूपमा १८ महापुराणको वाचन, चारै वेदको पाठ, धार्मिक प्रवचन, संगीतमय भजन–कीर्तन तथा विभिन्न आध्यात्मिक अनुष्ठान गरिनेछन् ।

महोत्सवमा नेपालसहित भारत, अमेरिका, अफ्रिका, भुटानलगायत विभिन्न देशबाट अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धर्मगुरु, सन्त, महात्मा, पण्डित, आचार्य तथा विदुषीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । दैनिक हजारौँ श्रद्धालु तथा विभिन्न धर्म–समुदायका मानिसको सहभागिता हुने अपेक्षा आयोजक ले गरेको छ । विभिन्न जातजाति, भाषा, धर्म र समुदायका सांस्कृतिक तथा धार्मिक झाँकीसमेत कार्यक्रममा प्रस्तुत गरिने छ ।

आचार्य श्री नन्दकिशोरजी महाराजका अनुसार महोत्सवमा तुलसी वाटिका आश्रम श्रीधाम वृन्दावनका पिठाधिस अनन्त श्री विभूषित स्वामी श्री भागवत शरण देवाचार्यजी महाराज, अन्तर्राष्ट्रिय कथावाचक गोविन्द घिमिरे, काठमाडौंका कुबेर सुवेदी, डा. स्वामी यतिराजाचार्यजी सुनसरी, अनन्त श्री विभूषित स्वामी श्री भागवताचार्यजी महाराज काठमाडौं, मुक्तिनाथ बाबा, स्वामी निर्विशेषानन्दजी महाराज र श्रीकृष्ण शरण देवाचार्यजी महाराजलगायत धर्मगुरुको सहभागिता रहनेछ ।

त्यसैगरी अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी श्री स्वरूपानन्द सरस्वतीजी महाराज, गुजरात, अनन्त श्री विभूषित स्वामी श्री ब्रह्मानन्द सरस्वतीजी महाराज, अफ्रिका, निम्बार्क कुलभूषण स्वामी श्री भागवत शरणजी महाराज, अमेरिका, टोनी जालत अफ्रिका, अनन्त श्री विभूषित सदा फलाहारी स्वामी विवेकानन्द सरस्वतीजी भुटान, अनन्त श्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराज जामनगर, स्वामी आनन्द सागरजी महाराज वृन्दावन, अन्तर्राष्ट्रिय कथावाचक पूज्य आचार्य श्री हरिमोहन गोस्वामीजी महाराज तथा स्वामी विष्णुवल्लभानन्दजी महाराज हरिद्वारलगायत सयौँ धर्मगुरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा महिला तथा बाल विदुषीहरूको पनि विशेष सहभागिता रहनेछ । आयोजकका अनुसार अयोध्याधामकी बाल विदुषी तथा कथावाचिका अनुराधा पाण्डे, अमेरिकाबाट सीता सहचरी, विदुषी हरिप्रिया शर्मा, हरिप्रिया अच्युत, विराटनगरकी गरिमा उपाध्याय, भारतकी शिखा कश्यप, सिक्किमकी अमृता गजुरेल र झापाकी वृन्दावनी दासीलगायतको सहभागिता रहनेछ ।

महोत्सवमा श्री शंकराचार्य पीठ वेद–वेदाङ्ग संस्कृत पाठशाला, साधुटार झापाका विद्वद्वरेण्य आचार्य प्रवर पं. लक्ष्मीप्रसाद खतिवडा, तथा काठमाडौंका डा. आचार्य प्रसाद गर्तौला यज्ञाचार्यका रूपमा रहने जनाइएको छ ।

गोलोक गोवर्धन गौशाला गाईको संरक्षणमा मात्र सीमित नरही सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रमा समेत काम गर्दै आएको छ । गौशालाका अनुसार विगत १० वर्षमा विपद् तथा असहाय अवस्थामा रहेका गोवंशको उद्धार, संरक्षण र संवद्र्धन गर्दै दुई हजारभन्दा बढी गोवंश गाउँ–समाजमा वितरण गरिएको छ ।

त्यस्तै, करिब एक हजार गाई अट्ने गोठ निर्माण, वृद्धवृद्धाको सेवा तथा संरक्षण, संस्कृत शिक्षा अध्ययन–अध्यापनका लागि गुरुकुल स्थापना तथा सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षणका क्षेत्रमा काम भइरहेको गौशालाले जनाएको छ ।

श्रीशताक्षीधामको पूर्वाधार विकासका क्रममा मठ–मन्दिर, विद्यालय, सत्सङ्ग भवन, भोजनालय, अतिथि भवन र माता–पिता सेवा आश्रमलगायतका संरचना निर्माणमा समेत गौशालाले भूमिका निर्वाह गर्दै आएको छ ।

गौशालाले विगत ११ वर्षदेखि बाला चतुर्दशी र विवाहपञ्चमीको अवसरलाई आधार बनाएर श्रीशताक्षी गोरक्षा महोत्सव आयोजना गर्दै आएको थियो । तर, यस वर्ष देखि वार्षिक समय तालिका परिमार्जन गरेर यस वर्ष देखी माघ महिनामा कार्यक्रम संचालन हुने आयोजकले बताएको छ ।
आयोजकले यस महोत्सवलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखेको जनाएको छ । कार्यक्रमले गोरक्षा, संस्कृत शिक्षा, आध्यात्मिक चेतना, धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण तथा धार्मिक पर्यटन प्रवद्र्धनसँग जोडेको गौशालाको भनाई छ ।

शिवसताक्षीधाम पूर्वी नेपालको महत्वपूर्ण धार्मिक गन्तव्यमध्ये एक भएकाले १९ दिनसम्म सञ्चालन हुने महोत्सवमा देश–विदेशबाट आउने धर्मगुरु, विद्वान्, कथावाचक तथा श्रद्धालुको उपस्थितिले यस क्षेत्रको धार्मिक पर्यटन र स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने आयोजकको अपेक्षा छ ।

आचार्य श्री नन्दकिशोरजी महाराजले भौतिक विकाससँगै प्रकृति, पर्यावरण, जीवजन्तु र वनस्पतिको संरक्षणका लागि आध्यात्मिक चेतनाको विकास पनि आवश्यक रहेको बताए । उनका अनुसार शत कुण्डीय गायत्री कोटिहोम र अष्टादश महापुराणजस्ता अनुष्ठानले सनातन परम्पराको पुस्तान्तरण, धार्मिक ज्ञानको प्रसार, गोरक्षाप्रतिको चेतना तथा विभिन्न समुदायबीच सद्भाव र सांस्कृतिक आदानप्रदान बढाउन सहयोग पु¥याउने उद्देश्य राखेको छ ।

शेयर गर्नुहोस :

54
Shares