मुख्य समाचार

किरात राई यायोक्खाको अध्यक्षमा किराती

किरात राई यायोक्खाको अध्यक्षमा किराती


खोटाङ – किरात राई यायोक्खाको जिल्ला अध्यक्षमा जसराज किराती चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आइतवार साँझ सम्पन्न यायोक्खाको दशौँ जिल्ला अधिवेशनबाट किराती सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

यायोक्खाको २० सदस्यीय खोटाङ जिल्ला कार्यसमितिको उपाध्यक्षमा रेखा राई र किसन राई, सचिवमा उदिम चाम्लिङ, सहसचिवमा सुखदेव राई, डार्विन चाम्लिङ र मनि बान्तावा, कोषाध्यक्षमा ममता राई र सहकोषाध्यक्षमा प्रमिला राई चयन हुनुभएको यायोक्खाका निवर्तमान अध्यक्ष युगशन किरातले जानकारी दिनुभएको छ ।

नवनिर्वाचित जिल्ला कार्यसमितिलाई यायोक्खाका केन्द्रीय सचिव सुमन राईले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय सचिव राईले यायोक्खालले राजनीतिक दलभन्दा माथि उठेर आफ्नो भाषा, संस्कार तथा संस्कृति संरक्षणमा लाग्नुपर्ने बताउनुभएको छ ।

जिल्लास्थित राजनीतिक दल तथा विभिन्न जातीय सङ्घसंस्थाका प्रतिनिधि सहभागी अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले किरात समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षणमा विशेष ध्यान दिनुपर्ने धारणा राखेका छन् । उनीहरुले किरात समुदायको पहिचान, भाषा, संस्कृति तथा अधिकारका विषयमा विगतमा भएका आन्दोलन र अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

जिल्ला भलिबल सङ्घको अध्यक्षमा राई

जिल्ला भलिबल सङ्घको अध्यक्षमा दिलचक्र राई चयन हुनुभएको छ । दिक्तेलबजारमा आज सम्पन्न जिल्ला भलिबल सङ्घको दोस्रो साधारणसभा तथा जिल्ला अधिवेशनले राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

दोस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा रजिन राई र लालमान राई तथा महासचिवमा गोपाल साम्पाङ राई सर्वसम्मत् चयन हुनुभएको निवर्तमान अध्यक्ष धनकुमार राईले जानकारी दिनुभयो । त्यस्तै, नवगठित जिल्ला भलिबल सङ्घको जिल्ला कार्यसमिति सदस्यमा शुकदेव राई, सुजन राई, मनिषा विश्वकर्मा, किरण वालेम राई, धनन्जय राई र विशाल राई चयन हुनुभएको छ ।

समितिको कोषाध्यक्षमा भने कार्यसमितिको पहिलो बैठकबाट महिला प्रतिनिधिलाई मनोनित गरिनेछ । भलिबल सङ्घको विधानअनुसार जिल्ला खेलकुद विकास समिति खोटाङले नयाँ कार्यसमितिमा थप दुईजना सदस्य मनोनित गर्ने प्रावधान छ ।

जिल्ला भलिबल सङ्घको नवनिर्वाचित जिल्ला अध्यक्ष राईले नेपालको राष्ट्रिय खेल भलिबललाई जिल्लामा व्यवसायिक खेलको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा २०७४ साल जेठ ९ गते घोषणा गरे पनि जिल्लामा व्यावसायिक खेल भएका छैनन् । जिल्ला भलिबल सङ्घमा नयाँ कार्यसमिति चयन भएसँगै भलिबल खेलका थप गतिविधि हुने अपेक्षा गरिएको खेलाडीले बताएका छन् ।

शेयर गर्नुहोस :

0
Shares