Banner news

मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी


झापा । झापाको मेचीनगर नगरपालिकालाई आगामी मंसिर १५ गते सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिने भएको छ। मानवसेवा आश्रम र नगरपालिकाको संयुक्त पहलमा घोषणाका लागि आवश्यक तयारी भइरहेको छ।

नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने उद्देश्यसहित मानवसेवा आश्रम र नगरपालिकाबीच दुई महिनाअघि सम्झौता भएको थियो। सम्झौतापछि नगरपालिकाका विभिन्न क्षेत्रबाट नियमित रूपमा उद्धार सेवा सञ्चालन हुँदै आएको छ। हालसम्म मेचीनगर नगरपालिकाभित्रबाट १०६ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको मानवसेवा आश्रमका झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिनुभएकाे छ ।

खुला सिमानाका कारण विभिन्न स्थानबाट सडकआश्रित मानवहरू आउने क्रम जारी रहनुका साथै विभिन्न परिस्थितिका कारण सडकमा कष्टकर जीवन बिताउन बाध्य मानवहरूको पहिचान तथा उद्धार गर्नुपर्ने आवश्यकता रहँदै आएकाे छ ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल स्वयं उद्धार सेवामा सहभागी हुँदै नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गर्ने अभियानप्रति प्रतिबद्धता जनाउनुभएको छ। जनप्रनिधि द्वयले आश्रमले सञ्चालन गर्दै आएको मानवीय सेवा कार्यको प्रशंसा गर्दै अभियानमा स्थानीय सरकारका तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हाे।

यसका साथै मानवसेवा आश्रमले मेचीनगर नगरपालिकाभित्रका विद्यालयहरूमा मानवता प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई समेत निरन्तरता दिँदै आएको छ।

वि.सं. २०८१ मंसिर २३ गते विधिवत् रूपमा सञ्चालनमा आएको मानवसेवा आश्रम झापा शाखामा हाल १०३ जना आश्रित रहेका छन्। तीमध्ये ३४ जना महिला र ६९ जना पुरुष रहेका छन्। आश्रमले हालसम्म झापाका विभिन्न स्थानबाट २२६ जनाको उद्धार गरी ११५ जनालाई पारिवारिक पुनर्मिलन गराइसकेको जनाएको छ।

शेयर गर्नुहोस :

27
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu