नेपालकै प्रथम जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यजी महाराजको विशेष उपस्थिति रहने
झापा। झापाको कनकाई नगरपालिका–६, मनसापुरस्थित राधिका फाउन्डेसनमा मंसिर १२ देखि २१ गतेसम्म सञ्चालन हुने नौदिने धार्मिक अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको छ।
नेपालकै प्रथम जगद्गुरु अनन्त श्री विभूषित बालसन्त मोहन शरण देवाचार्यजी महाराजको विशेष उपस्थितिमा अनुष्ठानको भव्य समुद्घाटन गरिने कार्यक्रम रहेको छ।

अनुष्ठानको पहिलो दिन मंसिर १२ गते बिहान ९ बजे फाउन्डेसन परिसरबाट भव्य कलश शोभायात्रा प्रारम्भ हुनेछ। शोभायात्रा कनकाई नगरपालिकाका विभिन्न क्षेत्र हुँदै पवित्र माई नदीसम्म पुग्नेछ। माई नदीमा धार्मिक विधिअनुसार पूजाअर्चना सम्पन्न गरी शोभायात्रा पुनः अनुष्ठानस्थलमा फर्कने कार्यक्रम तय गरिएको छ।
नौ दिनसम्म सञ्चालन हुने अनुष्ठानमा सुप्रसिद्ध भागवतवाचिका एवं भागवत मञ्जरी कथावाचिका राधिका दासीजीबाट श्रीमद्भागवत कथा प्रवचन हुनेछ। त्यसैगरी विभिन्न दिनमा नेपालका सुप्रसिद्ध कथावाचक, विद्वान् एवं विदुषीहरूको प्रवचन रहनेछ। बौद्ध तथा किराँत धर्मका ज्ञाता एवं अगुवाहरूबाट समेत आ–आफ्नो धर्म, दर्शन, संस्कृति र आध्यात्मिक चेतनासम्बन्धी प्रवचन प्रस्तुत गरिने कार्यक्रम रहेको छ। नेपालका सुप्रसिद्ध कलाकारहरूको समेत विशेष उपस्थिति रहनेछ।
यस अनुष्ठानमा नेपालका ५० भन्दा बढी जिल्लाबाट श्रद्धालु भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। छिमेकी राष्ट्र भारत र भुटानबाट समेत भक्तजनहरू सहभागी हुनेछन्। विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाका प्रतिनिधिहरूको संस्थागत सहभागिताले अनुष्ठानलाई थप भव्य र सामूहिक स्वरूप प्रदान गर्ने अपेक्षा गरिएको छ।
कलश शोभायात्रालाई भव्य र ऐतिहासिक बनाउन विभिन्न सामाजिक संघसंस्था एवं धार्मिक संघसंस्थालाई आ–आफ्नो संस्थाको ब्यानरसहित समूहगत रूपमा उल्लेख्य सहभागिता जनाउन राधिका फाउन्डेसनले विशेष आग्रह गरेको छ। साथै, श्रद्धालु भक्तजन तथा सम्पूर्ण सनातनी धर्मावलम्बीहरूलाई समेत शोभायात्रामा उत्साहजनक सहभागिता जनाउन आयोजकले आह्वान गरेको छ।
धार्मिक अनुष्ठानको आयोजनासँगै राधिका फाउन्डेसनले अघि बढाउँदै आएको सामाजिक सेवाको अभियान पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ। विकट भूगोल, विपन्न पारिवारिक पृष्ठभूमि तथा कमजोर आर्थिक अवस्थाका कारण अवसरबाट वञ्चित हुन सक्ने बालबालिकालाई फाउन्डेसनले लामो समयदेखि संरक्षण प्रदान गर्दै शिक्षा र आवासको प्रबन्ध गर्दै आएको छ। यस्ता बालबालिकाको भविष्य निर्माणमा समाजको सामूहिक सहयोग र सहभागिता जुटाउनु पनि अनुष्ठानको महत्त्वपूर्ण उद्देश्यका रूपमा रहेको छ।
धर्म, अध्यात्म, संस्कृति र मानव सेवालाई एकै सूत्रमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस नौदिने अनुष्ठानले धार्मिक जागरणसँगै सामाजिक सद्भाव, मानवीय करुणा र सेवाभावको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।
कार्यक्रम संयोजक एवं कनकाई नगरपालिका–६ का वडाध्यक्ष लक्ष्मीप्रसाद ओलीले अनुष्ठानको तयारी पूरा भएको जानकारी दिँदै धार्मिक तथा सामाजिक संघसंस्था, विभिन्न क्षेत्रका व्यक्तित्व र श्रद्धालु भक्तजनहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ।







प्रतिक्रिया