काठमाडौं । विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको जीवनरक्षाका लागि राष्ट्रिय मानव मानव अधिकार आयोगमा निवेदन परेको छ।
शुक्रबार सापकोटाका तर्फबाट उनकी पत्नी कविता पाण्डेले आयोगमा निवेदन दिएकी हुन्। आयोगमा दिएको निवेदनमा जीवनरक्षाको माग गरिएको छ।

‘गोपनीयताको हकलाई समेत हनन गर्ने गरी नियोजित रुपमा ममाथि गैरकानुनी कार्य गरिरहेकाले संलग्न व्यक्तिहरू पहिचान गरी आवश्यक कारबाही गरि पाउँ,’ निवेदनमा भनिएको छ, ‘मेरो र मेरो परिवारको जिउ ज्यानको रक्षा गरि पाउँ।’
यससँगै उनले आफूलाई पक्राउ गरेपछि धाकधम्की दिएर बयान लिइएको उल्लेख गरेका छन्। उनलाई गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।
विमानस्थलबाट पक्राउ गरेपछि गाडीमा राखेर आँखामा पट्टी लगाएर लगिएको निवेदनमा उल्लेख गरिएको छ। ‘बार्डिङ पास लिएर अन्तिम सुरक्षा जाँच स्थलमा पुग्दा प्रहरीले मलाई त्यहाँबाट नियन्त्रणमा लिई मसँग भएको दुई वटा मोबाइल फोन खोसेर लिई विमानस्थलबाट निकाली गाडीमा राखी आँखामा पट्टी लगाई लिएर गएका थिए,’ उनले भनेका छन्।
त्यसपछिका दुई दिन अज्ञातस्थलमा राखेर सोधपुछ गरिएको उनले बताएका छन्। सोधपुछका क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालगायतका व्यक्तिविरुद्ध बयान लिन लगाइएको उनले निवेदनमा उल्लेख गरेका छन्।
‘सोधपुछको क्रममा तिमीविरुद्ध हाम्रो व्यक्तिगत केही छैन भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, उनका भाइ तथा छोरा, राजनीतिक दल नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, हिमालय होटलका नविन तुलाधर, सर्वोच्च अदालतमा कार्यरत केही श्रीमानहरूविरुद्ध प्रमाण र बयान दिए छाडी दिने नत्र म मात्रै हैन, मेरो परवारलाई समेत नराम्रो हुन्छ भनी धकी दिइयो,’ उनले भनेका छन्।







प्रतिक्रिया