आर्थिक

झापामा आगामी पुस्ताको अर्थतन्त्रः उद्यमी, नीति र पुँजी विषयक छलफल

झापामा आगामी पुस्ताको अर्थतन्त्रः उद्यमी, नीति र पुँजी विषयक छलफल


बिर्तामोड । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) झापाले आगामी पुस्ताको अर्थतन्त्रः उद्यमी, नीति र पुँजी विषयक विज्ञहरुसँग प्यानल डिस्कशन गरेको छ । आज बिर्तामोडमा आयोजित डिस्कशनमा झापाका युवा उद्यमीहरुको सहभागिता रहेको थियो ।

प्यानल डिश्कसनमा पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौला, एक्सेल डेभलपमेन्ट बैंकका सिईओ डा. इन्द्रकुमार कट्टेल, एनवाईईएफका कार्यकारी निर्देशक सुदिप घिमिरे र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने रहेका थिए । कानुन तथा निजी क्षेत्रका अनुभवीहरुले एकैमञ्चबाट नेपालको उद्यम क्षेत्रको संभावना, चुनौतिबारे धारणा राखेका थिए । कार्यक्रममा कर प्रणाली, निजी क्षेत्रमैत्री नीतिहरुका बारेमा छलफल भएको थियो । ब्यवसायिक क्षेत्रको वातावरणमा सुधार ल्याउन सम्झौताको प्रभावकारी कार्यान्वयन र लगानीकर्ताको संरक्षणमा जोड दिइएको थियो ।

डा. संग्रौलाले राज्यले ब्यवसायीहरुलाई पुँजीपतिको दृष्टिकोणबाट हेरिरहेको बताए । उनले ब्यवसायीमाथि राज्य पक्षकै बुझाई ठिक नभएको स्पष्ट बनाएका छन् । प्यानलिष्टहरुले निजी क्षेत्रले स्वअनुशासनको पालना गर्दै जानुपर्नेमा समेत जोड दिएका थिए ।

राज्यको नीति नियम अनुसार व्यवसायीहरु चल्नुपर्ने बिर्तामोड वाणिज्य संघका अध्यक्ष राजु न्यौपानलेले बताए । उनले राज्य पनि निजी क्षेत्रप्रति चिन्तित हुनुपर्ने धारणा राखेका थिए । उनले व्यवसायीहरुलाई आँटभरोसा दिन सरकारले कार्यक्रम बनाउनुपर्ने बताएका हुन् । अध्यक्ष न्यौपानेले त्रासका बीच व्यापार व्यवसाय गर्न बाध्य हुनुपरेको भन्दै सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरे । देशबाट दक्ष जनशक्ति बाहिर गइरहेकोले रोक्ने किसिमको नीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले यस प्रकारका छलफलहरुले व्यवसायीहरुलाई मद्दत पुग्ने बताएका छन् । व्यापार समेत फस्टाउने गरी प्रभावकारी छलफल गर्न सूझाव दिदैं विदेश जानेहरु युवालाई रोक्ने किसिमको नीति जरुरी रहेको बताए ।

बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईले कोभिडदेखि जेनजी आन्दोलनसम्मका घटनाहरुबाट व्यवसाय क्षेत्र ठुलो समस्यामा रहेको बताए । उनले जुनसुकै सरकार आएपछि निजी क्षेत्रमैत्री नीति बनाउन सक्नुपर्ने धारणा राखे ।

एनवाईईएफ झापाका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा भएको छलफलमा युवा व्यवसायीहरुले कर, कानुनी व्यवस्था र निजी क्षेत्रसँग सम्बन्धित सवालहरु राखेका थिए ।

शेयर गर्नुहोस :

675
Shares