Banner news

कोशी प्रदेश सरकारलाई संघले बुझायो महोत्सवको प्रस्ताव

कोशी प्रदेश सरकारलाई संघले बुझायो महोत्सवको प्रस्ताव


बिर्तामोड । झापा उद्योग वाणिज्य संघ जिल्ला कार्यालय भद्रपुरका कार्यवाहक अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक राजकुमार राईले कोशी प्रदेश सरकारका मुख्य सचिव राजेन्द्र कुमार पौडेललाई औद्योगिक, व्यापार, कृषि, तथा पर्यटन महोत्सवको प्रस्ताव बुझाउनु भएको छ ।

अध्यक्ष राईले आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीकोसमेत ध्यानाकर्षण गराउने उद्देश्यले मुख्य सचिव पौडेललाई औद्योगिक, व्यापार, कृषि, तथा पर्यटन महोत्सवको प्रस्ताव बुझाउनु भएको हो । प्रतिनिधि मण्डलले झापा उद्योग वाणिज्य संघले माघ ७ गतेदेखि २१ गतेसम्म आयोजना गर्न लागेको औद्योगिक, व्यापार, कृषि, तथा पर्यटन महोत्सव सम्पन्न गर्न आवश्यक सहयोगसमेतको माग गर्दै सो प्रस्ताव बुझाएको संघका महासचिव सुमन्त मैनालीले जानकारी दिनुभयो ।

सो अवसरमा मुख्य सचिव पौडेलले सुस्ताएको बजारलाई प्रर्वद्धन र संवर्धन गर्न कोशी प्रदेश सरकारले केही प्रयत्न शुरु गरेको बताउनु भयो । उहाँले कोशी प्रदेशको पर्यटकीय नयाँ गन्तव्यहरुको पहिचान र विकास गर्न निजी क्षेत्रको पनि योगदान महत्वपूर्ण रहेको बताउनु भयो । प्रदेश सरकारले निजी क्षेत्रको प्रयासलाई सम्भव भएसम्म सहयोग पु¥याउन प्रदेश सरकार लागि परेको बताउनु भयो ।

आइतबार नै संघले वन तथा पर्यटन मन्त्रालय, कृषि, भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, सामाजिक सुरक्षा मन्त्रालय, खानेपानी मन्त्रालयलगायतमा अध्यक्ष राईले प्रस्तावपत्र बुझाउनुभयो ।

विभिन्न संघहरुले आयोजना गर्ने औद्योगिक, व्यापार, कृषि, तथा पर्यटन महोत्सव व्यापार मेला तथा महोत्सवलाई सहयोग गर्न कोशी प्रदेश सरकारले सानै भएपनि सहयोग बचनबद्धता मन्त्री तथा सचिवहरुले व्यक्त गर्नु भएको कोषाध्यक्ष पवन कुमार श्रेष्ठले बताउनु भयो ।

सो कार्यक्रममा प्रदेश सभाका माननीय सदस्यहरुद्वय भूमि राजवंशी तथा छविलाल चुडाल, कोशी प्रदेशका पूर्व सदस्य वसन्त वानियाँ, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमियाँ, झापा उद्योग वाणिज्य संघको विशिष्ठ सदस्य खड्ग बहादुर लिम्बू, महासचिव सुमन्त मैनाली, कोषाध्यक्ष पवनकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

324
Shares