काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने योजना अनुसार आफू नेतृत्वको सरकार अपदस्त गर्ने काम भएको बताउनुभएको छ ।
४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको लोकार्पण कार्यक्रमलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो समय मुलुक जलाउने र अराजकता मच्चाउने प्रयास भएको बताउनुभयो । ‘सरकार अपदस्त गर्नेदेखि मुलुक जलाउने काम भयो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘ अहिले मुलुक जलाउनेहरूकै डाको ठूला छन् ।’

उहाँले केही व्यक्तिहरू आफू विरुद्ध चुनाव लड्ने भन्दै तामझामका साथ निर्वाचन क्षेत्रमा पुगेको प्रसङ्ग उल्लेख गर्दै त्यसमा प्रयोग भएको पैसाको स्रोतप्रति प्रश्न उठाउनुभयो । ‘कोही–कोही केपी ओलीसँग चुनाव लड्छु भनेर तामझाम गरेर हामीले नचिन्ने नोट लिएर निर्वाचन क्षेत्रमा पुगेका छन्,’ उहाँले भन्नुभयो ।
नेकपा एमाले प्रतिक्रियावादीको दया, माया र कृपाले यहाँसम्म नपुगेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पार्टी सङ्घर्षकै बलमा स्थापित भएको बताउनुभयो । ‘हामी प्रतिक्रियावादीको दया, माया र कृपाले यहाँ पुगेका होइनौँ,’ उहाँले भन्नुभयो, ‘नेपाल हार्दैन, नेपाललाई हार्न दिइँदैन, किनकि यहाँ नेकपा एमाले छ।’
अराजक गतिविधि गर्नेहरूप्रति लक्षित गर्दै उहाँले कडा टिप्पणी पनि गर्नुभयो । ‘लुसिफरहरूले धेरै धाक नलगाए हुन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘जलाउनेहरूले ती जलाएका संरचनाहरू फेरि बनाउनु पर्दैन?’
इतिहास लामो हुने भएकाले कसैको हातबाट इतिहास नाप्ने प्रयास नगर्न चेतावनी दिँदै उहाँले युवापुस्तालाई गम्भीर सन्देश दिनुभयो । ‘तिम्रै हातबाट इतिहास नाप्न नखोज, इतिहास लामो छ,’ उहाँले भन्नुभयो, ‘युवाहरूले डिग्री गरेर मात्र हुँदैन, देश पढ, देश बुझ।’
अध्यक्ष ओलीले आफूहरू व्यक्तिगत स्वार्थका लागि नभई देशका निम्ति लडिरहेको स्पष्ट पार्दै परिवर्तन नभएको होइन, परिवर्तन भएको छ भन्ने कुरामा जोड दिनुभयो । ‘हामी महान् कठिनको घडीमा छौँ,’ उहाँले भन्नुभयो, ‘तर संघर्षबाट सबै कुरा पार लगाउँछौँ।’
नेपाली समाज बिस्तारै विकृत हुँदै गएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सुधारका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाली मन भड्काउने र अराजकता फैलाउने तत्त्वहरूलाई नियन्त्रण गर्नुपर्नेमा उहाँको जोड थियो ।
उहाँले कांग्रेसमा देखिएको विभाजन प्रति चिन्ता व्यक्त गर्दै कांग्रेलाई अदृश्य शक्तिले विभाजनको प्रयास गरेको बताउनुभयो । यस्तै प्रयास एमाले विभाजनको बेलामा पनि भएको ओलीले स्पष्ट पार्नुभयो ।







प्रतिक्रिया