आर्थिक

झापाको झिलझिलेमा वाटर किङ्गडम पार्क पुनर्जीवित, नयाँ ढंगबाट सेवा सुरु

झापाको झिलझिलेमा वाटर किङ्गडम पार्क पुनर्जीवित, नयाँ ढंगबाट सेवा सुरु


शिवसताक्षी । झापाको झिलझिलेमा रहेको ‘वाटर किङ्गडम पार्क’ नयाँ ढंगबाट पुनः सञ्चालनमा आएको छ।

वि.सं. २०७८ पुस २५ गते उद्घाटन भई सञ्चालनमा आएको उक्त पार्क केही समयपछि सुस्ताएको थियो। विशेषगरी कोरोना भाइरस (कोभिड–१९) महामारीपछि उत्पन्न आर्थिक संकटका कारण पार्क केही समय बन्द समेत भएको थियो।

पार्कका सञ्चालक तथा स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाका अनुसार हालसम्म पार्कमा ६५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। ठूला लक्ष्यका साथ सुरु गरिएको परियोजना कोरोना महामारी र त्यसपछिको वित्तीय संकटका कारण पूर्ण रूपमा सञ्चालन गर्न कठिनाइ भएको उहाँले बताउनुभयो।

उहाँका अनुसार कोरोनाकालमा बैंकबाट लिएको ऋणको ब्याजदर १८ प्रतिशतसम्म पुगेपछि पार्क आर्थिक रूपमा समस्यामा परेको थियो। यद्यपि बैंकिङ प्रणालीमा सुधार आउँदै गएपछि आगामी वैशाख महिनादेखि पार्क पूर्ण रूपमा सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

सञ्चालक सङ्ग्रौलाले पार्क बन्द भएको भन्ने हल्लाले पनि व्यवसायमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै वास्तविकता त्यस्तो नभएको स्पष्ट पार्नुभयो।

हाल पार्कभित्र रहेका सबै मनोरञ्जनात्मक संरचनाहरू पुनः सञ्चालनमा ल्याइएको छ। यहाँ जिपलाइन, वेभ पुल, स्विमिङ पुल, बालबालिकाका लागि किड्स पुल, वाटर एक्टिभिटी स्टेसन, कृत्रिम गुफा तथा आकर्षक मूर्तिकलगायत विभिन्न आकर्षणहरू रहेका छन्।

यसका साथै विवाह, ब्रतबन्ध, पार्टी, विवाह वर्षगाँठजस्ता विभिन्न सामाजिक तथा पारिवारिक कार्यक्रम आयोजना गर्न पनि विशेष व्यवस्था गरिएको छ। सञ्चालकका अनुसार घरमै कार्यक्रम गर्दा लाग्ने खर्चकै हाराहारीमा पार्कभित्र सहज रूपमा कार्यक्रम सम्पन्न गर्न सकिन्छ।

तीन बिघा क्षेत्रफलमा फैलिएको यस पार्कमा पर्यटकीय आवास तथा आतिथ्य सेवाका लागि सात वटा भूकम्पप्रतिरोधी भवन निर्माण गरिएका छन्। साथै दुई वटा सुविधा सम्पन्न रेस्टुरेन्ट, ३५ वटा आधुनिक आवासीय कोठा तथा १५० देखि ४०० जनासम्म अट्ने चार वटा सभाहल सञ्चालनमा रहेका छन्।

निजी लगानीमा कोशी प्रदेशकै ठूलो परियोजनामध्ये एक मानिएको यस पार्कले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस :

216
Shares