मुख्य समाचार

कटारी नगरपालिकामा स्थानीय पाठ्यपुस्तक लागू

कटारी नगरपालिकामा स्थानीय पाठ्यपुस्तक लागू


कटारी – उदयपुरको कटारी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गरेको छ । स्थानीय पाठ्यक्रमअन्तर्गत ‘कटारी ज्ञानमाला’ प्रकाशन गरी कक्षा १ देखि ५ सम्म अनिवार्य पठनपाठनका लागि लागू गरेको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले दुई वर्ष लगाएर विज्ञहरूमार्फत पाठ्यक्रम बनाएको र चालु शैक्षिक सत्रदेखि नै सबै विद्यालयमा अनिवार्य रूपमा पठनपाठन गर्न थालिएको जानकारी दिनुभयो ।

आज नगरपालिकाअन्तर्गत रहेका सबै विद्यालयका प्रधानाध्यापकको भेला गरी नगरपालिकाले पाठ्यपुस्तक वितरण गरिएको छ । नगर उपप्रमुख गीता खड्काले नगरका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्र, विभिन्न जातजातिको पहिचान, भूगोललाई समेटेर पाठ्यपुस्तक तयार गारिएको बताउनुभयो । स्थानीय पाठ्यपुस्तकसँगै आगामी दिनमा प्राविधिक विषयमा जोड दिने नगरपालिकाको सोच रहेको उहाँको भनाइ छ ।

शिक्षा शाखा प्रमुख सञ्जु दाहालकानुसार यस वर्ष कक्षा ५ सम्मका लागि तयार पारिएको पाठ्यक्रम क्रमशः कक्षा ८ सम्म लागू गरिने जानकारी दिनुभयो । सरकारको स्थानीय पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक तयार पारिएको उहाँले बताउनुभयो ।

शिक्षा शाखाका स्रोतव्यक्ति सूर्य कार्कीले एमएस प्रणालीमा भएका विद्यार्थीको तथ्याङ्कअनुसार पाठ्यपुस्तक छापेर सम्बन्धित विद्यालयमा पठाइएको बताउनुभयो ।

शेयर गर्नुहोस :

0
Shares